धनुषा । लाइसेन्सकाे परिक्षामा सेटिङ गर्ने र यस्तो सेटिङमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रतिनिधिकाे रूपमा खटिने ट्राफिक प्रहरीको पनि संलग्नता देखिएपछि मधेस प्रदेशकाे पथलैया स्थित ट्राफिक प्रहरी कार्यालयले पनि छानबिन शुरू गरेको छ ।

एसपी नान्तिराज गुरूङले धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रभुषण मण्डल र लाइसेन्सकाे ट्रायलमा खटिने सई नन्दु मण्डललाई दुई , दुई पटक सम्म पथलैया बाेलाएर स्पष्टीकरण लिएका छन् । लाइसेन्स वितरणमा अनियमितता गरेर सबैभन्दा बढी अतिरिक्त आम्दानी हुने पर्सा ट्राफिक पनि धनुषा ट्राफिक रहदै आएको छ ।
टेण्डर हालेर दस लाख सम्म बुझाएर यी जिल्लामा ट्राफिक प्रमुखको रूपमा निरीक्षक खटिने गरेका छन् । विगत डेढ बर्षदेखि धनुषा ट्राफिक प्रहरीमा कार्यरत सई नन्दु मण्डलले ड्राइभिङ स्कुल र दलाल मार्फत यातायात कार्यालयका प्रमुख समेतको भागबन्डाकाे सेटिङ गर्ने गरेको कुरा पनि छानबिनका क्रममा पत्ता लागेको छ ।
निरीक्षक चन्द्रभुषण मण्डलले सबै सेटिङ मिलाउने जिम्मेवारी यिनै सई नन्दु मण्डललाई दिएको समेत अनुसन्धानबाट खुलेको छ । ट्राफिक प्रहरीमा अरू सई असई भए पनि निरीक्षक मण्डलले सई नन्दुलाई नै सधै लाइसेन्सकाे परीक्षा र ट्रायलमा खटाउने गर्दै आएका थिए । फेल भएकोलाई पास गराई मासिक बिसाै लाख कमाउने भए पछि दस लाख दिएर पर्सा , धनुषा जस्ता जिल्लामा ट्राफिक प्रमुख बन्न निरीक्षकले किन टेण्डर नहालुन त ?
यस सम्बन्धमा प्रदेश ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गर्दा छानबिन भैरहेकोले केही भन्न नमिल्ने बताइयो ।यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जमा हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर योगात्मक परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट मध्यराति पास देखाइएको थियो ।
यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको यूजर (खाता) प्रयोग गरेर अवैध तरिकाले लाइसेन्सका लागि पास देखाइएको थियो । सामान्य इन्टरनेटबाट सञ्चालन नहुने यातायात सर्भरको ईडीएलभीआरएस सफ्टवेयरमा मध्यराति रिजल्ट अपडेट गरिएको मधेस प्रदेशको भौतिक पूर्वाधर विकास मन्त्रालयले जनाएको छ । वीरगन्जमा फेल भएकालाई रातिको समयमा जनकपुर कार्यालयबाट सर्भरमा सवारी चालकको लाइसेन्स परीक्षामा उत्तिर्ण गराई लाइसेन्स दिइएको छ ।
अवैध तरिकाले वितरण गरिएको लाइसेन्सबारे यातायात व्यवस्था कार्यालय जनकपुरले यातायात व्यवस्था विभाग र मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जानकारी गराएको छ । वीरगन्ज कार्यालयले प्रयोगात्मक परीक्षामा पास गरेका परीक्षार्थीको सूची तयार गरेको थियो । पास भएकाको नाम सूचीबाट लाइसेन्सका लागि राजस्व बुझ्ने क्रममा अवैध रुपले फेल भएकालाई सर्भरमा पास गरेको पाइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख सुशील साहले बताए ।
लाइसेन्सको राजस्व बुझाउने क्रममा कार्यालयले तयार गरेको सूचीमा फेल तर सर्भर ईडीएलभीआरएसमा पास भएको देखिएपछि शंका लागेर क्रस चेक गर्दा जनकपुरबाट रातिको समयमा सर्भरमा रिजल्ट अपडेट गरेको पाइएको थियो । त्यसपछि भने ६२ जनाकै लाइसेन्स रद्द गरिएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख साहले बताए ।अवैधरुपले वितरण गरिएको लाइसेन्सबारे प्रमाणसहित प्रहरीलाई जानकारी गराएको छ । यातायातको सर्भरमा ०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा ४२ जना, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र ०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनाको ‘जी’ समुह हेभी सवारीको चालक अनुमतिपत्रको लागि जनकपुरबाट ईडीएलभीआरएसमा पास गराई इन्ट्री गरिएको छ ।
जनकपुर यातायातमा लामो समयसम्म कम्प्युटर अपरेटर र हलुका सवारी चालकको रुपमा कार्यरत रही ०७५ चैत २६ गते सेवा करारबाट निलम्बन भएका मुकेशकुमार बर्माको युजर(खाता) एमके बर्मा प्रयोग गरी यातायातको सर्भरमा रिजल्ट अपडेट गरिएको हो । बर्माको खाताबाट वीरगन्जमा फेल भएकालाई पास गरिएको छ ।जनकपुर यातायात व्यवस्था कार्यालयमा ०६६ फागुन १७ गते कम्प्युटर अपरेटरमा नियुक्त भएका बर्मा ०७४ माघ १० गतेदेखि ०७५ चैत २६ गतेसम्म सवारी चालकको पदमा कार्यरत थिए ।
कार्यालयमा अनैतिक काम गरेको आरोप लागेपछि बर्मालाई ०७५ चैत २६ गते सेवा करारबाट हटाइएको यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वीरेन्द्र साहले बताए । ‘कार्यालयबाट निलम्बन भएका बर्माको युजर पनि बन्द गरिएको थियो,’ प्रमुख साहले भने, ‘करार सेवाबाट हटाइएपछि उनको युजरसमेत डिएक्टिभेट गरिएको थियो ।
वीरगन्जको लाइसेन्स रिजल्ट जनकपुरबाट अपडेट गरिएको घटना र अवैधरुपले वितरण गरिएको लाइसेन्सबारे प्रमाणसहित यातायात व्यवस्था विभागसम्म पुगेको ३ महिना भन्दा बढी भएपनि गोप्य राखिएको छ । यसअघि पनि जनकपुरमा १ हजार ७ सय ७० भन्दा बढी लाइसेन्स अवैध रुपमा वितरण गरिएको थियो । लाइसेन्स रद्द गरिएपनि अनुसन्धान हुन सकेको छैन ।
हेभी सवारीको चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालय जनकपुर र वीरगन्जमा सेवाग्राहीबाट १ लाख रुपैयाँसम्म दलालले असुल्ने गरेको पाइएको छ । दलालले संकलन गरेको रकमको ९० प्रतिशत कार्यालयका कर्मचारीलाई दिएपछि दुबै कार्यालयबाट हेभी सवारीको चालक अनुमतिपत्र बन्ने गरेको छ ।
यसअघि पनि यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुखसहित अन्य चारजना कर्मचारीहरु मिलेर कार्यालयमा ब्रम्हलुट मच्चाएको आरोप लागेको थियो । यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख वीरेन्द्र साह, नायब सुब्बाद्वय रामजीवन महतो र अनिल गिरी भन्ने तेजेन्द्रकुमार गिरी तथा करारका कर्मचारीद्वय भीष्म नारायण साह र दिलिप साह मिलेर कार्यालयमा ब्रम्हलुट मच्चाएको आरोप लागेको थियो ।
उनीहरु पाँचैजना मिलेर करोडौंको चलखेल गरिरहेको आरोप लागेको थियो । यातायात कार्यालय जनकपुरमा करारमा भिष्म नारायण साह, दिलिप कुमार साह, उमाशंकर महतो, रोशन कर्ण, सवारी चालकद्वय ईश्राफिल साह एवं रामबिनेश साह, अमित झा, मनु कर्ण तथा बिपिन कर्णलाई लामो समयदेखि नियुक्त गरेर राखिएको छ ।
करारका कर्मचारीलाई स्थायी कर्मचारी भन्दा बढी जिम्मेवारी दिएर राखिएको तथा उनीहरुले कार्यालय प्रमुखको मध्यस्तकर्ताको रुपमा काम गरिरहेका छन् । सवारीको लाइसेन्स बनाउन आएका सेवाग्राहीहरुबाट अफलाईन दर्ता शुल्क प्रति सेवाग्राही २ हजार रुपैयाँ लिने गरेको र त्यस रकममध्येबाट ५० प्रतिशत रकम कार्यालय प्रमुखकोमा बुझाउनुपर्ने नियम नै बनाइएको छ ।

