ओखलढुंगा । शिक्षकको हत्या अभियोगमा एक महिलालाई पक्राउ गरी ओखलढुंगा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया महिला छलमायाँ धमला रहेकी छन् ।

धमलालाई सप्तरीको बिष्णुपर गाउँपालिका–५ घर भई जिल्लाको चिसंखुगढी गाउँपालिका–४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा अध्यापनरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त शिक्षक गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी प्रमुख सुकदेव खनाल सहितको टोली घटना स्थल पुगेको थियो ।
घटनाको प्रकृति हेर्दा र अनुसन्धान गर्दा शिक्षकको हत्या गरी महिला फरार रहेको खुल्न आएको थियो । प्रहरीले शंकित ब्यक्तिको खोजतलास र पहिचान गर्ने क्रममा शनिबार साँझ उक्त महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख खनालले जानकारी दिए ।
पक्राउ परेकी महिलालाई जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जनाएको छ । मृतक शिक्षकलाई टाउको तथा शरीरको अन्य भागमा कुटपिट गरी सख्त घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलाले समेत घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् । प्रहरीका अनुसार मृतक शिक्षक र धमला केही समयदेखि एकअर्काप्रति चिरपरित थिए ।
यसैक्रममा उक्त क्षिककले आफूलाई विभिन्न ब्ल्याकमेल गर्न खोजेपछि आफूले शिक्षकको कोठामै गएर घटना घटाएको पक्राउ परेकी महिलाले बताएको डीएसपी खनालले जानकारी दिए । मृतक शिक्षक यसअघि सल्लेरीकै एक विद्यालयमा अध्यापनरत रहेको बुझिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !