जनकपुर । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण एक घण्टा ढिलो रेल गुडेको छ । शनिबार ओलीले महिनाथपुर स्टेशनसम्म जाने रेलको टिकट लिएका थिए ।
काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो ।
५६ जनाले एसी र ८६ जनाले जेनरलमा टिकेट काटेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनले रेल गुड्न ढिलो भएको स्वीकार गरे । नेताहरुको आग्रहमा ढिलो भएको भन्दै आगामी दिनमा यस प्रकारको त्रुटि नहुने उनले प्रतिबद्धता गरे ।
नेकपा एमाले धनुषा कमिटीले विदेह नगरपालिका तिनकौरिया बजारस्थित आयोजना गरेको जनसभामा सहभागी हुने ओली रेल चढेर गएका हुन् ।जनसभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ । त्यहाँ लोसपाका केन्द्रीय सदस्य उमाशंकर अरगरियासहितका नेता एमाले प्रवेश गर्ने तयारी छ । ओली पछिल्लो समय मधेसमा पार्टी मजवुत बनाउने कसरत गरिरहेका छन् । उनी भदौ २७ गते पनि जनकपुरधाम आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !