ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले दशैं र तिहार लगायत चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गरेको छ । चोरी, लुटपाट, जुवा, झै–झगडा र सवारी टिकटमा हुनसक्ने कृतिम अभाव नियन्त्रण गर्न विशेष योजना लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।
चाडपर्वको सुरक्षामा एक सिफ्टमा १५ सय प्रहरी परिचालन गर्नेगरी ललितपुर प्रहरीले सुरक्षा योजना बनाएको छ । बैंक तथा वित्तिय संस्था, किनमेल गर्ने ठाउँ, सुनचाँदी पसल र मानिस जमघट हुने ठाउँमा लुटपाट नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिएको छ । सादा पोसाकमा खटिएका प्रहरीले लुटपाट गर्ने समूहबारे निगरानी गर्छन् । लुटपाट गरेर भागेमा उनीहरुलाई छेकबार गर्न मोटरसाइकलमा क्विक रेस्पोन्स टिम खटिएका हुन्छन् ।
लुटपाट नियन्त्रणमा खटिएका प्रहरीले गोली चलाउन सक्छन् । ‘मोटरसाइकल गस्ती गर्ने टिमलाई लुटपाट भएमा तत्काल पुग्ने र बल प्रयोग गर्ने आदेश गरिएको छ’ एसपी शाहीले रातोपाटीसँग भने–‘गस्ती टोलीलाई लुटेराको खुट्टामा गोली हान्ने सम्मको आदेश छ ।’प्रहरीले कालोबजारी सिर्जना गर्न सक्ने व्यापारिक घरानामाथि पनि निगरानी बढाएको छ । लगनखेल, सातदोबाटो, मंगलबजार, सानेपा र बालकुमारी लगायतका ठाउँमा प्रहरीले निगरानी शुरु गरेको हो ।
चाडपर्वमा ३ तहको सुरक्षा घेरा बनाउने गरी विशेष सुरक्षा योजना लागू गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए । उनले भने–‘३ तहको घेरा बनाएर कोभर्ट अपरेशन सञ्चालन गर्छौं ।’चक्रपथ भित्रको घना बस्ती भएको ठाउँ, त्योभन्दा बाहिरको क्षेत्र तथा ललितपुर जिल्लामा भित्रिने र बाहिरिने नाकामा प्रहरीले सुरक्षा घेरा बनाउने भएको छ । नाकामा हुने चेकजाँच, रातिको समयमा हुने चेकजाँच र होटलमा अवाञ्छित गतिविधि गर्नेहरु माथिको चेकजाँचमा कडाइ गरिने एसएसपी पोखरेलले जानकारी दिए ।
दशैं र तिहारमा मानिसहरु घर छाडेर आफ्नो पुख्र्यौली थातथलो फर्कने गर्छन् । त्यस्ता घरहरुमा चोरी हुनसक्ने आंकलन गर्दै प्रहरीले विशेष निगरानी गर्ने भएको छ । चोरी नियन्त्रण गर्न चक्रपथभित्र १२ वटा एम्बुसिङ टोली परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको एसपी शाहीले जानकारी दिए । ‘एम्बुसिङ’ टिमले पकेटमार र पुराना चोरमाथि निगरानी गर्छन् ।एम्बुसिङ टोलीले चोरीका लागि घर रेकी गरेर बसेका शंकास्पदलाई नियन्त्रणमा लिन्छन् ।
युनिफर्ममा सानो संख्यामा (५ जनासम्म) टोलटोलमा पैदल गस्ती गर्ने ललितपुर प्रहरीको योजना छ । बसमा चढ्ने यात्रुहरूको पाकेटमारी हुनसक्ने आकलन गरेर ललितपुर प्रहरीले पाकेटमार माथि निगरानी शुरु गरेको छ । चाडपर्वमा लुटपाट हुनसक्ने ठाउँमा विशेष निगरानी गरिने एसपी शाहीले जानकारी दिए ।घटस्थापनाका दिनबाट ललितपुरमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने प्रहरीको तयारी छ ।
उपत्यका बाहिर जाने यात्रुहरुलाई सहजीकरण गर्न र टिकटमा हुने कृतिम अभाव तथा ठगी रोक्न सहायता कक्ष सञ्चालन गर्न लागिएको बताइएको छ । बल्खु, लगनखेल, चापागाउँ, सातदोबाटो र ग्वार्काेमा सहायता कक्ष सञ्चालन गरिएको एसपी शाहीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !