काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको बताएका छन् ।आज सैनिक मञ्च टुँडिखेलमा आठाैँ संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए । उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिड १९ र डेंगीलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रूपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले आगामी चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको बताए ।
संविधान दिवसको अवसरमा प्रधानमन्त्री देउवाले विकास र समृद्धिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि एवं नागरिकहरूलाई आग्रह गरे । उनले संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन, नियमहरू तर्जुमा भइ कार्यान्वयनमा आएको बताए । प्रधानमन्त्री देउवाले सुन्दर, समृद्ध राष्ट्र निर्माण गरेर जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाएर सबै किसिमका राजनीतिक स्वतन्त्रताबाट समतामुलक समाजको निर्माण गर्न सक्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरे । उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै वृहत राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !