काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा नयाँ प्रमुख(मुख्य अनुसन्धान निर्देशक) नियुक्तिको तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्ने उच्च स्रोत बताउँछ ।
हालका प्रमुख यदुलाल खरेलले ५८ वर्षे उमेरहदका कारण मंगलबारदेखि अवकाश पाउँदैछन् । सोही कारण सोमबार नै सरकारले नियुक्तिको तयारी गरेको छ । प्रमुखको प्रतिस्पर्धामा एआइजीद्वय हुतराज थापा र ओम जोशी छन् । दुईबीच एआइजी बढुवादेखि नै तिव्र प्रतिस्पर्धा छ । कसलाई बढुवा गर्ने विवाद चार महिना लम्बिएपछि सरकारले विभागमा एआइजीको एक दरबन्दी नै थपेर गत महिना दुवैलाई बढुवा गरेको थियो ।
पहिलो नम्बरमा थापाको बढुवा भएकाले उनकै प्रमुख बन्ने सम्भावना बलियो रहेको स्रोत बताउँछ । जोशीको तुलनामा कार्यक्षमतामा पनि अब्बल भएकाले पनि थापा रोजाईमा पर्ने सम्भावना छ । यद्यपी जोशी पनि सुदुरपश्चिममा कांग्रेस नेताहरुमार्फत चलखेल गरिरहेका छन् ।
प्रमुख नियुक्तिसँगै रिक्त हुने एआइजीको एक पदमा भने टेकेन्द्र कार्की नियुक्त हुने बताइएको छ ।
तल्लो तहमा पनि बढुवा हुँदै
गुप्तचरमा गत साता पाँच जना डिआइजीमा बढुवा भएका छन् । ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भिम बहादुर बुढाथोकीको डिआइजी सरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो ।
बढुवासँगै चार जनाले प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । खड्कालाई सुदुरपश्चिम, खनाललाई प्रदेश नम्बर १, दाहाललाई कर्णाली तथा हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ । बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ ।
त्यस्तै, दुई डिआइजीको सरुवा पनि भएको छ । प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमति तथा सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको छ ।
डिआइजी बढुवासँगै गुप्तचरमा लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको छ । तल्लो तहमा भने विभागमा नयाँ प्रमुख नियुक्ति भएपछि मात्र बढुवा हुने सम्भावना छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !