काठमाडौँ । नेपाल प्रहरीमा जोडी प्रहरीको संख्या बढिरहँदा उनीहरूलाई सँगै खटाउन समस्या भएको छ । हाल करिब एक हजार एक सय जोडीले एउटै क्षेत्रमा खटाइदिन माग गरी निवेदन दिएका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार हाल नेपाल प्रहरीमा दुई हजार नौ सय ७२ जोडी कार्यरत छन् ।
श्रीमान्–श्रीमतीलाई सँगै खटाउने प्रहरीको नीति छ । तर, धेरैले राजधानी र सुगममै रोज्ने भएका कारण सबैलाई मागअनुसार प्रहरी प्रधान कार्यालयले सरुवा मिलाउन सकेको छैन । जसकारण धेरैजसो जोडी प्रहरी फरक–फरक जिल्लामा काम गर्न बाध्य छन् ।
प्रहरी जोडीको संख्या बढ्दै गएकाले एकै ठाउँमा खटाउन प्रहरी प्रधान कार्यालयलाई समस्या परेको हो । प्रहरीले हालै प्रहरी जोडीलाई सम्भव भएसँगै एकै ठाउँमा सरुवा गर्ने भन्दै त्यसका लागि परिपत्र गरेको थियो । जसमा करिब एक हजार एक सय जोडीले निवेदन दिएका छन् । तर, निवेदन केलाउँदा धेरैले सुगम नै बस्न चाहेको र दरबन्दी मिलाउन गाह्रो भएपछि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन ।
प्रहरी प्रवक्ता टेकप्रसाद राई प्रहरीमा श्रीमान्–श्रीमती दुवै प्रहरी संगठनमा भएको अवस्थामा सकेसम्म एउटै कार्यालयमा खटाउने संगठनको नीति भएको बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !