काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताएका छन् । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा राम्रो उत्तराधिकारीहरु तयार होउन् भन्ने आफ्नो सपना रहेको बताएका हुन् ।
उनले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै आफूले सबै चिज भएको बताए । उनले पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अर्थमन्त्री समेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गरेका थिए । संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्ने उनको भनाइ थियो ।
उनले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताए । जवाफमा अध्यक्ष दाहालले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताए । उनले शर्मालाई आफूले रक्षा र विकास गरेको उल्लेख गरे ।
उनले भने, ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाका कुरा । म तपाईहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भुमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि । म त जनयुद्धको तयारीको पनि नेतृत्व गरें । जनयुद्धको पनि नेतृत्व गरें । संविधानसभाको पनि नेतृत्व गरें । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरें । मेरो लागि धेरै चिज भएकै छ । अब मेरो सपना के हो त, राम्रो उत्तराधिकारीहरु तयार हुन् ।’
उनले थपे, ‘तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडि बढुन् । हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन् । यही मेरो सपना छ । तपाई विद्यार्थी साथीहरुले एकताबद्ध भएर यो सपना पूरा गर्नको लागि सहयोग गर्नुस् । यही अपील र आग्रह छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !