काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आक्रोश पोखेका छन्। उनले गाई चिन्ह नपाउने भन्दै निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन्।
फैसलापछि असन्तुष्टि पोख्दै थापाले भने, ‘अदालतको फैसला शिरोधार्य छ। तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ।’उनले चुनाव चिह्न रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको आरोप लगाएका छन्।
उनले अदालतको फैसलालाई चलखेल, दबाब र सेटिङले संवैधानिक अंगलाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने उदाहरण भएको टिप्पणी गरेका छन्। उनले झण्डामा गाई राख्न पाइने तर चुनाव चिह्न बनाउन नपाउने ? भन्दै प्रश्न समेत गरेका छन्।उनले भने, ‘झण्डामा गाई राख्न पाइने तर चुनाव चिह्न बनाउन नपाउने! निर्वाचन आयोग र अदालतको वाह! क्या गजबको निर्णय र न्याय!’
कुन कानुनमा गाई चिह्न राख्न नपाउने भनेर लेखेको छ? भनेर देखाउन उनले अदालत र निर्वाचन आयोगलाई चुनौतीसमेत दिएका छन्।उनले भनेका छन्, ‘अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ-कुन कानुनले गाई चिह्न नपाउने लेखेको छ? दलले आफ्नो चिह्न रोज्न/परिवर्तन गर्न कुन कानुनले रोकेको छ?देखाउनु होस्। जनताले पनि हेरोस्, बुझोस्।’
उनले अदालतको फैसला मान्नु आफ्नो बाध्यता रहेकाले मान्ने बताएका छन्। देशमा एउटा बलियो राष्ट्रवादी, हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भैरहेको देशी/विदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गतकै एउटा कडीका रुपमा फैसालालाई आफूले बुझेको थापाले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !