झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब देशमा ठुला–ठुला परिवर्तन आवश्यक नरहेको बताएका छन् । शुक्रबार गृह जिल्ला झापाको बाहुण्डाँगीस्थित आफ्नै निर्वाचन क्षेत्रमा झापाका प्रथम शहीद विश्वनाथ घिमिरेको शालिक अनावरण गर्दै उनले देशमा धेरै ठुला–ठुला परिवर्तनहरु भइसकेको बताउँदै अब स–साना सुधारहरु आवश्यक रहेको बताएका छन् ।

उनेल भने, ‘हामीले धेरै खाले परिवर्तनहरु देशमा ल्याइसक्यौं । धेरै शहीदहरुले देश र जनताको लागि रगत बगाउँदै आफ्नो ज्यान गुमाइसके । अब ती शहीदको त्याग र बलिदानले सजिएको सपना पूरा गर्नुछ’, महामन्त्री शर्माले भने ।
देशमा भएका परिवर्तन र उपलब्धिहरुलाई संस्थागत रुपमा संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले देश र जनतालाई समृद्धिको बाटो तर्फ लैजान सबैले आफ्नो स्वार्थ छाडेर अग्रसर हुनेपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले देश र पार्टीले चिनेको व्यक्तिलाई झापा क्षेत्र नं १ ले चिन्न नसकेको भन्दै दुःख व्यक्त गरे । शहीदको भूमि बाहुण्डाँगीमा अघिल्लो दुईवटा निर्वाचनमा विश्वप्रकाश शर्मा पराजित हुँदा तुलनात्मकरुपमा विकास हुन नसकेको भन्दै झापा क्षेत्र नं १ बासीलाई अब त्यस्तो गल्ती नर्गन आग्रह गरे ।
आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा गठबन्धनका तर्फबाट यस क्षेत्रबाट कसले टिकट पाउछ भन्ने अन्योल नरहेको बताउँदै उनले भने यस क्षेत्रबाट शर्माले नै टिकट पाउनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरे ।
शालिक अनावरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सरिता प्रसाई, पार्टीका केन्द्रिय सदस्य गोमा भट्टराई, प्रदेश नं. १ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबे, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा शहिदका २ जना परिवारलाई अभिनन्दन गरिएको छ । अभिनन्दीत हुनेमा शहिदका स्व।जेठा छोरा ठाकुरप्रसादकी श्रीमती धनकुमारी घिमिरे र प्रतिष्ठानका सचिव निरज घिमिरेलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तथा शहीद विश्वनाथ घिमिरेका नाति निरज घिमिरेले गरेका थिए, भने सभापतित्व प्रतिष्ठानका अध्यक्ष राम कट्टेलले गरेका थिए ।
