जुन जिल्लामा जुन दलका उम्मेदवार उसका मात्रै चिह्न
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा राजनीतिक दलको निर्वाचन चिह्न कायम हुने भएको छ ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनमा ७९ वटा राजनीतिक दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम भएको बताएको हो । प्रतिनिधि सभा निर्वाचनमा तीबाहेक अन्य स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहनेछन् ।
आयोगले निर्वाचन प्रयोजनका लागि दलदर्ता गर्न तोकेको समयभित्र ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि चारवटा निवेदन गरी कुल ८४ वटा निवेदन आयोगमा परेको जनाएको छ ।
जुन जिल्लामा जुन दलका उम्मेदवार उसका मात्रै चिह्न
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा निर्वाचनतर्फ ७९ वटा राजनीतिक दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम भएको बताए । उनले जुन जिल्लामा जुन दलका उम्मेदवार कायम रहन्छन् ती दलको मात्रै चिह्न मतपत्रमा समावेश हुनेसमेत जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनतर्फ ७९ वटा राजनीतिक दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम भएको छ, जुन जिल्लामा प्रत्यक्षतर्फ जुन दलका उम्मेदवार कायम रहन्छन्, ती दलका मात्रै चिह्न हुन्छन्, उम्मेदवार नहुने दलको चिह्न मतपत्रमा रहँदैन,’ आयोगका प्रवक्ता पौडेलले राजधानीसँग भने ।
केही दलले निर्वाचनमा संयुक्त चिह्नसहित सहभागी हुनेगरी आयोगमा दल दर्ता गराएकाले निर्वाचनमा सहभागी हुने दलकोे संख्या बढी देखिएको तथा चिह्न कम हुने भएको आयोगले जनाएको हो ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन ७५ दलले आआफ्नो निर्वाचन चिह्नबाट सहभागी हुने गरेर तथा १२ दलले संयुक्त निर्वाचन चिह्न लिएर निर्वाचनमा सहभागी हुनेगरी आयोगमा निवेदन दिएको जानकारी दिए । ती १२ दलले ४ दलका संयुक्त चिह्नबाट निर्वाचनमा सहभागी हुन चाहेका हुन् । यसरी आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिने दलकोे संख्या ८७ र चिह्न ७९ कायम भएको हो ।
आयोगका अनुसार प्रतिनिधि सभातर्फको उम्मेदवारी दर्ता भएपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्नसमेत मतपत्रमा कायम गरिनेछ । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारी २३ असोजमा गर्नेगरी कार्यतालिकाको तयारी गरिरहेको छ ।
नेपाललाई जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहनेगरी पहिलो हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १ सय ६५ जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित भएका १ सय १० जना गरी प्रतिनिधि सभामा कुल २७५ सदस्य रहने संवैधानिक व्यवस्था छ ।
यसैगरी, प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी नेपालका सातवटै प्रदेशमा गरी प्रदेश सभामा कुल ५ सय ५० सदस्य रहने व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !