ऐजेन्सी । भारत उत्तर प्रदेशको नोएडामा नियम उल्लङ्घन गरी बनाइएको ३२ तले ट्विन टावर ढालिएको छ ।

नोएडास्थित सेक्टर ९३ मा बनेका दुई वटा गगनचुम्बी टावर ढालिएको हो । २ अर्बभन्दा बढीको लागतमा बनेका दुई वटा टावर ढाल्न करिब २० करोड रुपैयाँ खर्च लागेको बताइएको छ । भारतमा पहिलोपल्ट यति अग्लो बिल्डिङ भत्काइएको हो ।

सुपरटेक ट्विन टावर ढाल्न महिनौंदेखि तयारी गरिएको थियो । यो काम एडिफिस (EDIFICE) इन्जिनियरिङ नामको कम्पनीले गरेको हो । दुवै टावर ढाल्न ३७ सय किलो बारुद प्रयोग गरिएको थियो ।

यी दुवै टावरमा बारुद लगाउन ९ हजार ६ सय ४२ प्वाल पारिएका थियो । करिब ७ सेकेण्डमा बारुद सल्किएको थियो भने बारुदमा आगो लागेको ५ सकेण्डमै दुवै टावर एकसाथ ध्वस्त भएका थिए ।


