बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ शहरको विकासबाटै व्यवस्थित शहरीकरण सम्भव हुने बताएका छन् । उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको बताए ।
प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै नेपालका अधिकांश शहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना शहरलाई पुनःनिर्माण गरी व्यवस्थित शहरकोरूपमा रूपान्तरण गर्न जरुरी रहेको बताएका हुन् ।
बुटवलले व्यवस्थित शहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने बताए।
मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय सरकारसँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले शहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।
उनले प्रदेश र स्थानीय तहले योजनाबद्व शहरी विकासमा जोड दिनुपर्ने बताए । ‘जनातालाई आफ्नै थातथलोमा आधुनिक शहरी विकासको सेवा पुर्याउन सके अनियन्त्रित बसाइँसराइ रोकिन्छ’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !