काठमाडौं । सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोपमा थुनामा रहेका मनोज पाण्डे तत्काल थुनामुक्त नहुने भएका छन्। थुनामुक्त हुन माग गर्दै मनोज पाण्डेले दिएको रिटमा अन्तिम निर्णय सुनाउँदै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेपछि पाण्डे तत्काल थुनामुक्त हुने सम्भावना टरेको हो।
जिल्ला अदालत काठमाडौंले यसअघि असार ६ गते पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसविरुद्ध पाण्डे उच्च अदालत पाटन पुगेका थिए। उच्चका न्यायाधीशद्वय ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले जिल्लाकै आदेश सदर गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ।
जिल्ला अदालतले पाण्डेलाई मानव बेचबिखनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। बाल यौन दुर्व्यवहारको कसुरमा भने १ लाख धरौटी माग गरिएको थियो।
शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको थियो।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेशनल’ प्रतियोगिताका सहभागी (प्रतिस्पर्धी)लाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो।
पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो।
पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !