काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाहले महानगरअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।
मेय बालेनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपील पनि गरेका छन् । उनले भनेका छन्, ‘राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी काननको परिपालना गर्न यसै विज्ञप्तीमार्फत् सूचित गरिन्छ ।’
दलसँगको आबद्धता त्याग नगरे सार्वजनिक रुपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानूनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने भन्दै उनले चेतावनीसमेत दिएका छन् । जारी विज्ञप्तीमा महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेको उल्लेख छ ।
उनले सो सम्बन्धीको व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले गरेको उनले जनाएका छन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० को खण्ड (ग)ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।
काठमाडौं महानगरभित्र विभिन्न दल निकट कर्मचारी र शिक्षक संगठनहरु सक्रिय रहेका बेला मेयर शाहले दलीय आबद्धता त्याग्न निर्देशन दिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !