काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।
नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवीबाट विभूषित गर्नेछिन् । सन् १९५० यता नेपाली सेना र भारतीय सेनाका प्रमुखबीच एकअर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा रही आएको छ ।
सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि तत्कालीन भारतीय सेनापति केएम क्यारिअप्पा पहिलोपटक नेपालमा मानार्थ प्रधानसेनापतिको पदवी लिन आएका थिए । त्यसयता २१ जना भारतीय सेनाका प्रमुख मानार्थ प्रधानसेनापतिको पदवी लिन नेपाल आइसकेका छन् । त्यसैगरी त्यस अवधिमा नेपालका १७ जना सेनापति मानार्थ प्रधानसेनापतिको पदवी लिन दिल्ली गएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !