बेल्ही । तस्करी गरी ल्याएको २४ पोका कपडा नियन्त्रणमा लिन खोज्दा सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा तस्करहरूले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सप्तरीको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको २४ पोका कपडा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
‘तस्करीका सामान घरमा लुकाएर राखेको सूचनापछि प्रहरी टोली परिचालन गरेका थियौं,’ प्रबक्ता काफ्लेले भने, ‘प्रहरीले घर खानतलासी गर्न खोज्दा तस्कर समूहले प्रहरीमाथि नै ढुंगामुढा गर्यो र तीन जना प्रहरी घाइते भए । स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गनुपर्यो ।’
उनका अनुसार अहिले घटनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले घरबाट तस्करी गरी ल्याइएका केही सामान बरामद गरेको छ । ‘कपडा र इलेक्ट्रोनिक्स सामान बरामद गरेका छौं,’ डीएसपी काफ्ले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !