सिराहा । सिराहा प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले गत वर्षको अपराधिक तथ्यांक हेर्दा नेपाल प्रहरी ९५ प्रतिशत केसमा सफलता प्राप्त गरेको बताएका छन् ।

एसपी (प्रहरी उपरीक्षक) अर्जुन प्रसाद तिमिल्सिनालाई प्रहरी संगठन भित्र बौद्धिक अधिकृतका रुपमा पनि चिनिन्छ । प्रहरीमा नौलो एवं प्रभावकारी र तत्कालै नतिजा दिइहाल्ने अभियान भित्राउने तथा त्यसलाई कार्यान्वयनमा ल्याइहाल्ने क्षमता उनमा छ ।
नयाँ र परिस्कृत अभियानका परिकल्पनाकार अर्जुन प्रसाद तिमिल्सिनाले ओखलढुंगा प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा धेरै अभियानहरु सञ्चालनमा ल्याए । ती मध्ये आधा दर्जन अभियान अपराध नियन्त्रण एवं अनुसन्धानका सवालमा विशेष र महत्वपूर्ण रहे । संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका तिमिल्सिनाको आफ्नो कार्यकाल विशेष र सफल रहेको संगठनको दाबी छ ।
स्वच्छ छवि, भद्र र सालिन स्वभावका उनको कार्यकाल सफल हुनुमा संगठनका अधिकारीको साथ महत्वपूर्ण रहयो । प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको चर्चा छ ।
प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका एसपी तिमिल्सिना नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् । कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने, कुशल कार्य क्षमता, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगर्ने तथा सबै कुरा कानुन अनुसार नै हुनु पर्छ भन्ने उनको स्वभाव हो ।
कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त लगुऔषध नियन्त्रण , अन्य अपराध, चोरी तस्करी नियन्त्रण गरेर प्रहरी उपरीक्षक तिमिल्सिना चर्चामा रहे ।
आपराधिक क्रियाकलाप नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सिराहा सफल देखिएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा भएका विभिन्न प्रकृतिका अपराधमा संलग्न प्रतिवादी पक्राउ, कैद भुक्तान, जरिवाना असुल, दर्ता भएका मुद्दा फर्स्योटलगायतले आपराधिक क्रियाकलाप न्यूनीकरणमा सिराहा प्रहरीको कार्य सफल देखाएको हो।
कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्षभरिमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका २७२ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये १५३ जना पुरुष र १९ जना महिला छन्। अदालतले दोषी ठहर गरेपछि प्रहरीको फरार सूचीमा रहेका उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। पक्राउ परेका जम्मा प्रतिवादीहरूलाई अदालतले १०३ वर्ष ६ महिना १० दिन कैद सजाय र १ करोड ५ लाख ६४ हजार ३८९ रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
यस्तै गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी १६९ मुद्दा दर्ता भएकोमा तिनमा संलग्न २४४ प्रतिवादीलाई पक्राउ गरिएको, दर्ता भएकामध्ये १५२ वटा मुद्दा फर्स्योट गरिएको र १७ वटा मुद्दा चालु अवस्थामा रहेको वार्षिक प्रगति विवरणमा उल्लेख छ।
यसैगरी सिराहा प्रहरीले गत आर्थिक वर्षमा अवैध मदिरा नियन्त्रणमा पनि उल्लेख्य कार्य गरेको छ। यसअन्तर्गत अवैध मदिरा उत्पादन गर्ने २२ वटा भट्टीबाट ३१ हजार ४९० लिटर कच्चा पदार्थ, ७ हजार १९ लिटर तयारी मदिरा नष्ट र ३१ वटा मदिरा उत्पादनमा प्रयोग भएका ३१ मेसिन बरामद गरेको छ।
त्यस्तै भन्सार छली गरी सामान ओसारपसार गर्ने ३४ जना व्यक्ति र सामन ओसारपसारमा प्रयोग गरिएका २१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। भन्सार छलीबापत उनीहरूबाट असुल भएको ३ करोड १० लाख १८ हजार ७६९ रुपैयाँ भन्सार कार्यालयमा दाखिला गराइएको छ।
त्यस्तै ३ फिटे २९ थान, ४ फिटे ७ थान, ४/४ को ६ फिटे ६ थान, ४ फिटे ५ थान र ९ फिट लम्बाइ, ५ फिट चौडाइको ९ थान अवैध काठ बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालयमा बुझाइएको सर्लाही प्रहरीले जनाएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सिराहा प्रहरीले विभिन्न मिति र स्थानमा ६३३ वटा जनचेतामूलक कार्यक्रम गर्दा ती कार्यक्रममा ६८ हजार ३०८ जना सहभागी भएका छन्।
गत आर्थिक वर्षभरि जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा परेका १ हजार ५८ उजुरीमध्ये ८८७ वटाको मिलापत्र गरी किनारा लगाइएको छ भने १७१ वटा चालु अवस्थामा छन् ।
त्यसैगरी गत आर्थिक वर्षभरिमा ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार २१९ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ। ती सवारी साधन कारबाहीबाट ३ करोड १७ लाख ६२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा ५७६ वटा सवारी दुर्घटना हुँदा ५३ पुरुष, १० महिला र ९ बालबालिकाको मृत्यु भएको छ। ६९६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी इकाइका प्रहरी कर्मचारीको सक्रियताका कारण अपराध न्यूनीकरणमा उल्लेख्य सफलता हासिल गर्न सफल भएको बताए।
‘अपराध नियन्त्रण एकल प्रयासले सम्भव छैन,’ उनले जनप्रभाव संगभने,‘यसमा मातहका प्रहरी इकाइ र समुदायको पनि उत्तिकै भूमिका रहन्छ।’

















