काठमाडौं । नेपाल भारत सीमा नाका अन्तर्गत जटही बोर्डरबाट मानव तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने अमर पंजियार र परिचय खुल्न नसकेको अर्का एकजना रहेका छन् ।

८ वर्षीया एक बालिकालाई बा.२१ च ७१२८ नम्बरको चारपाङग्रे गाडीमा सवार भई भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनालाई ४८औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरुले जटही बोर्डरबाट पक्राउ गरेका थिए ।

उनीहरुले ती बालिकालाई काम लगाउन भारतको बिहारस्थित मधुबनी जिल्लाको बाँसोपट्टी गाउँबाट आफ्नो घर लगिरहेको बताईएको छ ।
नाबालिकसँग काम गराउनु दण्डनीय अपराध रहेकोले उनीहरुलाई सोही कानूनको अधिनमा रहि पक्राउ गरिएको र थप कारबाहीका लागि भारतीय प्रहरीको नियन्त्रणमा राखिएको छ । नाबालिकलाई हाल हरलाखी थाना प्रहरीको जिम्मा लगाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !