लाहान । विरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करीका लागि प्रयोग भइरहेको पाइएको छ । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् ।

बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुने एम्बुलेन्स ट्राफिक प्रहरीको चेकिङमा पनि खासै पर्दैनन् ।
यही मौकाको फाइदा उठाउँदै एम्बुलेन्समा अवैध सामानको ओसारपसारसमेत हुने गरेको घटना बेला-बेला सार्वजनिक हुँदै आएका छन् । हो, यस्तै घटना सिराहाको लाहानमा पनि भएको छ । एम्बुलेन्समा राखेर लैजादै गरेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहानको अगाडिबाट आज राती अबैध गाँजा बरामद भएको छ ।
प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बर को एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले एम्बुलेन्स चालक सिराहाको धनगढीमाइ नगरपालिका वडा नम्बर ९ मुसरनिया बस्ने श्रवण लामाको छोरा वर्ष ३५ को सरोज लामालाई नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार एक जना फरार भएका छन् । एम्बुलेन्समा विरामी भने थिएनन् ।
ईलाका प्रहरि कार्यालय लाहानका प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) कुमार मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाजा सहित ईलाका प्रहरी कार्यलय लाहानमा राखेको थप अनुसंधान भईरहेको डिएसपी मैनालीले जानकारी दिए ।
अबैध ओसारपसारको ‘सुरक्षित साधन’ का रुपमासमेत वेला-वेला दुरुपयोग हुने गरेको एम्बुलेन्समा भेटिएको अबैध सामानले यो एक घटना मात्र हुनसक्ने कुरामा आशंका उब्जाएको छ । यसले थप रहस्यको संकेत पनि गरेको छ ।

