जनकपुर । मधेस प्रदेश सरकारका गृहमन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीसँग माग गरेका छन् ।मन्त्री साहले आइतबार प्रदेश प्रमुख मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र प्रहरी हस्तान्तरण गर्न माग गरेका हुन् ।

तोकेको सीमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण विरोधका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य हुने उनले चेतावनी दिएका छन् । केहि दिनअघि मात्र मन्त्री साहले पत्रकार सम्मेलन गरी संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
‘संविधान तथा संघीय ऐनले प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशलाई सुम्पिएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘प्रहरी समायोजनमा संघीय सरकारले कुनै तदारुकता नदेखाउँदा प्रहरी र प्रशासन विनाप्रदेश सरकारको अनुभूत हुन नसकेको व्यहोरा सादर अनुरोध छ ।’
