काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन्। पश्चिम बंगालका पूर्वराज्यपाल जगदीपलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो।
धनखडले कूल खसेको मतमा ५ सय २८ प्राप्त गरे। उनका विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरेकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

१६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए।
भारतमा उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ। धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन्। जुलाई महिनामा भएको राष्ट्रपति चुनावमा भाजपाकी उम्मेदवार द्रौपदी मूर्मु राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !