वाग्मती। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने वाग्मती प्रदेशका आठ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको हो।

विभिन्न उद्योगबाट उत्पादित नमूना संकलन गरी जाँच गर्दा मापदण्डअनुसारको नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ। कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो
आवको सात मुद्दाको फैसला भएको र चारको फैसला हुन बाँकी रहेको जनाएको छ। गत आवमा उपभोक्ताबाट कार्यालयमा ६ उजुरी परेकोमा पाँच वटाको अनुसन्धान सकिएको छ । जसमा दुई उजुरीमाथि मुद्दा दायर दायर गरिसकिएको छ भने दुईमा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ। एउटा उजुरीउपर नमूना संकलन गरी प्रयोगशाला विश्लेषण गर्दा कैफियत नपाइएको तथा एउटा उजुरी अनुसन्धानको क्रममा रहेको जनाइएको छ।
प्रतिवेदनमा उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न विद्यमान खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ। गत आवमा कार्यालयले ६० बजार, २ सय १० उद्योग तथा ४१ होटल तथा रेष्टुराँ र चमेना गृहको अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ।
गत आवमा कार्यालयबाट २९ खाद्य तथा दानाको अनुज्ञापत्र जारी गरिएको, १ सय ४ खाद्य पदार्थको अनुज्ञापत्र नवीकरण तथा उद्योग स्थापनार्थ ७८ वटाको सिफारिस गरिएको कार्यालयले जनाएको छ।त्यस्तै अनुगमनको क्रममा ७ होटल र रेष्टुराँलाई स्तरीकरण लोगो वितरण गरिएको छ ।
कार्यालयका सूचना अधिकारी प्रगति अधिकारीका अनुसार सेवाग्राहीलाई विश्वसनीय प्रयोगशालाको अनुभूति गराउनका लागि कार्यालयले गत आर्थिक वर्षमा २ हजार १ सय २० खाद्य पदार्थ नमूना विश्लेषण गरेकोमा ९६ वटा नमूना प्रतिकूल रहेको पाइएको छ।
