काठमाडौं । प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एमालेका अर्थ विभागका सदस्य एम अधिकारीको पहिचान भएको बताएका छन् ।संसदको शून्य समयमा बोल्दै महतले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण भेटाएको बताएका हुन् ।

संसदमा सशक्त आवाज उठ्दा पनि एम अधिकारीको परिवार, पार्टी र संसदले समेत खोजतलास नगरेपछि आफूले खोजेर पहिचान गरेको उनले बताए । ‘यो सदनले नखोजे पनि एउटा सांसदको नाताले मैले त खोज्नै पर्यो भनेर म खोज्न रातदिन लागे । मैले प्रमाण पनि भेटाएँ, ‘ उनले भने ।
सद महतले व्यङ्यात्मक रुपमा शब्दार्थ लगाएर एम अधिकारीलाई पैसा (ढुकटी)को अधिकार भएको व्यक्तिका रुपमा व्याख्या गर्दै ती व्यक्ति गभर्नर नै भएको दाबी गरे ।
‘एम भनेको मनी रैछ । मनि भनेको पैसा, ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसामा अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझिंदो रैछ ‘ उनले अघि भने, ‘ढुकुटीमा अधिकार भएको मान्छे को रैछ त भनेर हेर्दा तिनी गभर्नर रैछन् ।
गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दो रैछ ।’आफ्नो एक्लो प्रयासले एम अधिकारी गभर्नर नै रहेको पत्ता लगाएको भन्दै सांसद महतले कारबाहीको लागि सभामुखसँग माग गरे । ‘समिति त बनेन । म एक्लैले एम अधिकारी भन्ने मान्छे खोजेर ढुकुटीको अधिकार भएको मान्छे, गभर्नर मैले हजुरसमक्ष बुझाएको छु । उहाँमाथि कारबाही होस् ।’
