काठमाडौं । काठमाडौंका लागि उडान भर्न लाग्दा खराबी आएपछि यति एयरलाइन्सको जहाज आज (शुक्रबार) बिहान विराटनगर विमानस्थलमै रोकिएको छ ।
विराटनगरबाट ६० जना यात्रु लिएर बिहान ७ः३० बजेतिर काठमाडौंका लागि उड्ने तयारीमा रहेको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो । एक्कासि खराबी आएपछि जहाजलाई विराटनगरमै रोकिएको छ ।

यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरका अनुसार यात्रु लिएर बिहीबार साँझ काठमाडौंबाट आएको जहाज विराटनगर विमानस्थलमै ‘नाइट स्टप’ गरिएको थियो । ‘स्टार्ट’को तयारी हुँदै गर्दा जहाजको इन्डिकेटरमा खराबी देखिएको उनले बताए ।
विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा रहेका सबै यात्रु चढिसकेपछि जहाजमा खराबी रहेको थाहा भएको हो । ‘यात्रुहरु सिटमा बसिसकेपछि जहाज ‘स्टार्ट’को तयारी हुँदै थियो,’ कुँवरले भने, ‘तर खराबी देखिएपछि सबै यात्रुलाई ओरालिएको छ ।’
उनका अनुसार जहाजमा आएको समस्याको पहिचानका लागि काठमाडौंबाट प्राविधिक झिकाइसकिएको छ । ‘जहाजमा कहिले काहीँ यस्तो समस्या आइरहन्छ । यस्तो समस्या आउनु सामान्य कुरा हो,’ उनले भने, ‘प्राविधिक आएर परीक्षण गरिसकेपछि समस्याको पहिचान हुन्छ ।
इन्जिनियरले पत्ता लगाएर समस्याको समाधान गरिसकेपछि उडान नियमित हुन्छ ।’ यात्रुलाई गन्तव्यमा पुर्याउनका लागि काठमाडौंबाट अर्को जहाज आउने क्रममा रहेको यति एयरलाइन्सले जनाएको छ ।

