काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारहरको संगठन प्रेस युनियनको अध्यक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष पराजीत हुने संकेत देखिएको छ । प्रेस युनियनको शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो ।

शनिबार बेलुकादेखि भएको मतगणनामा बालुवाटारले उठाएका अध्यक्षका उम्मेदवार अनिता विन्दुलाई ४५ मतले पछि पार्दै शिव लम्सालले अग्रता लिएका छन् । प्रेस युनियनको निर्वाचनमा करिब १ हजार ४ सय मत खसेको थियो । ६ सय मत गणना गर्दा लम्सालले ३१६ मत प्राप्त गरेका छन् भने देउवापक्षीय उम्मेदवार अनिताले २७१ मत पाएकी छन् । लम्साललाई डा. शेखर कोइराला पक्षले समर्थन गरेको थियो । महासचिवका उम्मेदवार जगन्नाथ दुलाल त २ सय भन्दा बढी मतले पछाडि छन् ।
महासचिवका उम्मेदवार दिलीप पौडेलको फराकिलो अग्रताले उनको जित सुनिश्चित जस्तै देखिएको छ ।बरिष्ठ उपाध्यक्षमा प्रेम केसी देउवा पक्षीय सरोज अधिकारीभन्दा ७ मतले अगाडि छन् । नेपाली कांग्रेसको महाधिवेशनपछि भएको पार्टी निकट संगठनको पहिलो महाधिवेशन हो ।
जुन महाधिवेशनको मतगणनाको प्रारम्भिक परिणामले सभापति तथा प्रधानमन्त्री देउवा पक्ष कमजोर देखिएको छ । मतगणनाको यही रुझान कायम रहे संस्थापन पक्ष प्रेस युनियनमा पराजीत हुने देखिन्छ ।
