काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली काँग्रेसका संस्थापक तथा पूर्व सभापति वीपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वीपी कोइरालाको स्मृति दिवस भएको र वीपी नेपालको पहिलो संसदको नेता भएकाले उनलाई संसदले स्मरण गर्नुपर्ने बताएका हुन् ।

वीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दापनि नेपाली जनतालाई केन्द्रमा राखेको उनले बताए । सांसद रिजालले कोइरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लागेका स्मरण गरे ।
उनले भने, ‘आज वीपी स्मृति दिवस हो । वीपी नेपालको पहिलो संसदको नेता मात्रै होइन नेपाललाई लामो समयसम्म एउटा गुन लगाएर जानुभएको छ । सुवर्ण समशेरले वि.पि.लाई सभापति फिर्ता गर्दा नासो बुझाएँ भन्नुभयो । वीपी ठूलो कि आफू ठूलो भनेर भेट्न गएका गणेशमान सिंहले पहिलो भेट पछाडि रामभक्त हुनमान भनेझैँ वीपीभक्त गणेशमान भएँ भन्नुभयो । सूर्यप्रसाद उपाध्यायको वीपी रोगसँग गाँजिएको बेलाको भेटमा दुवै नेताको आँखाको आर्द्र देख्दा सबैले कल्पना गर्नसक्छ कति प्रेम र स्नेह भाव थियो ।’
उनले फेरि भने, ‘कृष्णप्रसाद भट्टराई वीपीको अन्तिम दिनमा पाँच रुपैयाँको भुटेको चना बोकेर उहाँलाई पु¥याउन जाँदा भित्र कुरा गर्न आउनुस् भन्दा मेरो नेतालाई दर्शन गरेँ पुग्यो भन्नुभयो । यस्तो नेता जो सबैभन्दा माथि उभिएर बस्नुभएको थियो । कहिल्यै जीवनमा जनताको प्रतिनिधि हुँ भन्ने गुमाउनु भएन । राजासँग लड्दा पनि, राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर, नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभयो । त्यो वीपी कोइरालालाई स्मरण आज संसदले गर्नुपर्छ । त्यसैले मैले समय मागेको सभामुखज्यू ।’
सांसद रिजालले वीपी कोइरालाका समकालिन नेताहरु सुवर्ण समशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुले समेत वीपी कोइरालालाई उच्च सम्मान गर्ने गरेको प्रसंग उठाएका थिए ।
