वीरगञ्ज । हुण्डीमार्फत रकमको अवैध कारोवार गर्नेहरु मधेस प्रदेशबाट धमाधम पक्राउ पर्न थालेका छन् । कारोवारी पक्राउ परेको घटनाले पछिल्लो समय हुण्डीको कारोवार फस्टाएको पुष्टि हुन्छ ।

नेपाल प्रहरीले ४१ लाख ५५ हजार रकमसहित हुण्डी कारोबार गर्ने १ जान भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार जिल्लास्थित पूर्वी चमपारण थाना रक्सौल–११ निवासी राकेश कुमार रहेका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँका अनुसार विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलको सिटमुनी र ट्याङ्कीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली ४१ लाख ५५ हजार रुपैया फेला पारेको हो ।
प्रहरी नायब महानिरीक्षक खाँले मोटरसाइकलसहित पक्राउ परेका राकेश कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको बताए ।
मधेस प्रदेश प्रहरीले यस अघि अवैध हुण्डीका कारोवारीलाई नेपाल रु २ करोडौं १८ लाख ६५ हजार ८ सय २० रुपैयाँ र भारतीय रुपैयाँ २२ लाख ३९ हजार ८ सय सहित ४७ जनालाई पक्राउ गरेको थियो । हुण्डीमार्फत एक लाख रुपैयाँ पठाउँदा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हुण्डीमार्फत कारोवार गर्दा एकै पटकमा धेरै आम्दानी हुने भएकाले पनि अवैध कारोवार गर्ने गिरोह सक्रिय हुने गरेको प्रहरीको विश्लेषण छ । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैंकबाट १० लाख भन्दा बढी पैसा पठाउँदा स्रोत देखाउनु पर्ने भएकोले अवैध धन्दा गर्नेहरूले हुण्डीमार्फत कारोवार गर्ने गरेको जानकारहरु बताउँछन् । हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउन नपर्ने र राजस्व समेत छल्न सकिने प्रहरीले जनाएको छ ।
‘हुण्डीमार्फत करोडौंको कारोवार भइरहेको छ भन्ने सूचना प्रहरीमा छ । यसलाई नियन्त्रण गर्न प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ,’ मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँले भने, ‘यस्तो अवैध कारोवारमा ठूला घरना र नाम चलेका व्यापारीको समेत संलग्नता छ भन्ने कुरा आएको छ । हुण्डीको कारोवार गर्नेको नेटवर्क अन्तराष्ट्रिय स्तरसम्म फैलिएको छ ।’ उनले अवैध हुण्डी कारोवार बारे कनेक्सन खोतल्दै यसमा संलग्नको सञ्जाल भत्काउन प्रहरी लागि परेको जानकारी दिए ।

