झापा । भतिज र भाउजूलाई अन्धाधुन्ध धारिलो हतियार प्रहार गरी मरणासन्न बनाएर झापाका एक व्यक्ति फरार भएका छन् ।

झापा गाउँपालिका –१ लसुनाका दुखिया राजवंशीले उक्त घटना गराएका हुन् । उनले ४० वर्षीया भाउजू सिमसरी राजवंशी र १४ वर्षीय भतिज धनञ्जय राजवंशीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय प्रल्हादकुमार राजवंशीले बताए।
सिमसरीलाई हतियार प्रहार गरेको देखेका धनञ्जयलाई पनि आवेगमा आएर दुखियाले धारिलो हतियार प्रहार गरेका हुन् । घटना मंगलबारको भएको प्रहरीले जनाएको छ। घटना लगत्तैदेखि दुखिया फरार छन्। घाइते सिमसरीको विर्तासिटी हस्पिटल बिर्तामोडको आइसीयू र धनञ्जयको बिर्तामोडकै बिएण्डसी अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको प्रल्हादकुमार राजवंशीले बताए।
दुखियाको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । घटनास्थल सीमावर्ती क्षेत्र भएकाले दुखिया भारत भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको कारण अझै खुल्न सकेको छैन ।

















