धनकुटा । एक युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।

वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई शनिबार राति साढे ११ बजे धनकुटा बजार नजिकबाट पक्राउ गरिएको थियो ।
शुक्रबार राति हिलेबाट तेह्रथुमको बसन्तपुर बजारस्थित एक होटलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।राईले घुम्न जाने बहानामा सहिदभूमि गाउँपालिकाको खोकुबाट तेह्रथुमको बसन्तपुर बजारमा पुर्याएको जाहेरीमा उल्लेख छ । घर फर्कन ढिलाइ हुने बहाना बनाएर आफूमाथि रातभर जबर्जस्ती गरेको पीडितको भनाइ छ ।
पक्राउ परेका ३८ वर्षीय वडाध्यक्ष राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । घटना भएको स्थान तेह्रथुम जिल्ला भएकोले पक्राउ गरिएका राईको थप कारबाही प्रक्रियाका लागि तेह्रथुम प्रहरीलाई बुझाइने अधिकारीले जानकारी दिए । राई गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार भई वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
जिल्लामा ८ जना विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउपर्नेमा धनकुटा नगरपालिका ८ सान्ताङस्थित देउराली माविका ४० वर्षीय शिक्षक चन्द्रकुमार राई छन् । राईले आफ्नै विद्यालयका ६ देखि १० कक्षामा अध्ययनरत ८ बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ ।
आइतबार अपराह्न उजुरी दर्ता भएसँगै प्रहरीले राति साढे ८ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । घटनाबारे विद्यालयमा छलफल गर्न बोलाइएका राईलाई छात्रछात्रा र अभिभावकले घेराउ गरेर राखिएको अवस्थामा नियन्त्रणमा लिएको एसपी अधिकारीले बताए । राईले उक्त विद्यालयका १३ देखि १६ वर्ष उमेर समूहका बालिकाको संवेदनशील अंगमा छुने, लुगा फुकालिदिने, अश्लील शब्द प्रयोग गर्नेलगायतका क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ ।
धनकुटाको सहिदभूमी गाउँपालिका ३ कुङलाङ घर भएका राई २०६४ सालदेखि विद्यालयमा राहत दरबन्दीमा पढाउँदै आएको विद्यालय स्रोतले जनाएको छ । पीडित बालिकाहरुले यसअघि प्रधानाध्यापक यमबहादुर बस्नेत तथा अभिभावक संघका अध्यक्ष सोमबहादुर राईलाई घटनाबारे लिखित जानकारी गराएका थिए । तर बस्नेत र राईले उजुरी बेवास्ता गरेको पीडित बालिकाहरुले गुनासो गरे । पछिल्लो समय बालिकाहरु विद्यालय नजाने भन्दै रुवाबासी गर्न थालेपछि सोधखोज गर्दा घटना बाहिरिएको एक अभिभावकले बताए । शिक्षक राईले केही वर्षदेखि बालिकाहरुलाई यौन दुर्व्यवहारजन्य क्रियाकलाप गर्दै आएको जनाइएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा अभिभावकसहित उजुरी लिएर पुगेका बालिकाहरुले तत्काल पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका थिए । तर, दिनभर प्रहरीले पक्राउ नगरेपछि आफूहरुले नै संलग्न शिक्षकलाई खोजी विद्यालयमा ल्याएर घेराउ गरेको बालिका तथा उनीहरुका अभिभावकले बताए । पीडित बालिकाहरुको आइतबार नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
घटनाबारे गहिरो अनुसन्धान गरिने प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताए । बाल यौन दुरुपयोग मुद्दामा राईविरुद्ध प्रक्रियाअघि बढाइने उनले जानकारी दिए । मुलुकी ऐन अपराध संहिता २०७४ को २२५ दफाअन्तर्गत कसुरमा अदालतसमक्ष मुद्दा अघि बढाइने जनाइएको छ ।

















