मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का २२ वर्षीय मिलन दर्जी लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् ।

दर्जी झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट मङ्गलबार दिउँसो ३ः२० बजेतिर पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट नौ ग्राम खैरो हेरोइन बरामद झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले दर्जीलाई पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

















