आलोक यादव / लहान । ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान लहान प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कुमार प्रसाद मैनालीले जनप्रभावसँग कुरा गर्दै भने, ‘सिराहाको लहान पनि लागुऔषधको कारोबार हुने ठाउँ हो । यो बिरुद्ध प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’

ईलाकाको कमाण्ड सम्हालेदेखि नै लागुऔषधको कारोबार र कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका प्रहरी नायब उपरीक्षक मैनालीको नेतृत्वले पछिल्लो समय आफ्नो अभियानमा उच्च सफलता मात्र हासिल गरेको छैन । त्यस्ता कारोबारीलाई कारागारको बाटो समेत देखाई दिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय लहानले सुरु गरेको लागुऔषध विरुद्धको स्वीप अप्रेसन सफल हुदै गएको प्रहरीको दावी छ ।
‘यो प्रहरीको नियमित काम नै हो । तर यो बिषयलाई हामीले प्राथमिकतामा राखेर काम गरेका हौ ।’डीएसपी मैनालीको भनाई छ, ‘स – साना गिरोहदेखि लिएर ठूला गिरोहको सञ्जाल भत्काउने, कारोबार रोक्ने र समाजलाई सुसस्कृत बनाउन हामीले केही कोसिस गरेका छौ ।’
स्विप अप्रेसनको क्रममा छोटो समयमै भारी परिणाममा लागुऔषधका कारोवारी र लागुऔषध बरामद भएको छ । बरामद लागुऔषधको परिणाम अहिलेसम्म कै उच्च हो ।

लहान प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित दुई भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलिले दुई हजार थान भन्दा बढि विभिन्न लागूऔषधसहित उनीहरुलाई आईतबार राती पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकिका अनुसार आईतबार राती ११ बजे डिएसपी मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा लहान नगरपालिका–८ स्थितमा मोहम्मद । अफजतले संचालन गरेको आल्मुनियम पसल तथा दयाराम ठाकुरको घरमा खानतलासी गर्दा ठुलो परिमाणमा लागूऔषध बरामद भएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका भारत मधुवनी जिल्ला, पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान नगरपालिका–५ बस्ने मोहमद अखतरले आल्मुनियम पसललाई लागूऔषध कारोबारको अड्डा बनाएका थिए । यस्तै उनलाई भारत मधुवनी जिल्ला, ग्राम पंचायत खरियोग थाना पिप्राही धर्मेन्द्र कुमार ठाकुरले साथ दिइरहेका थिए ।
प्रहरीले उनीहरु तीनैजनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डिसी ४३९ बोतल, स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद भएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको ज. १ प ४७५८ नम्बरको मोटरसाईकल, नेपाली रुपैयाँ ४३,५०० र तीनथान मोबाइल समेत बरामद गरेको जनाएको छ ।

















