काठमाडौं । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी)सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारे ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भने, “एसपीपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा सुस्पष्ट रुपमा प्रतिबद्धता राख्न चाहन्छु ।”
नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले काम गरिरहेको उहाँले जानकारी दिए । नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको उहाँले आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा बताए ।
सांसदहरुले सोधेका पुरक प्रश्नको जवाफमा गृहमन्त्री खाणले एमसिसी सम्झौता सहमतीमै पास भएको र एसपीपीमा नेपालको कुनै संलग्नता नरहेको दोहो¥याए । उनले एमसीसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्ने सोचका साथ नै अघि बढाइएको र पछि व्याख्यात्मक टिप्पणीका साथ पास भएको स्पष्ट पारे ।
“एसपीपीमा हामी संलग्न हुँदैहुँदैनौ भनिरहेका छौँ, हिजो एमसीसीमा पनि जे बोल्यौँ त्यही गर्यौँ, आज पनि जे बोल्छौँ त्यही गछौँ”, गृहमन्त्री खाँणले थप प्रष्ट्याउँदै भने, “यो स्टेट पाटनरसिप प्रोग्राममा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन ।”
प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित भएको छैन
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कार्यक्रम अहिलेसम्म सुनिश्चित नभएको सदनमा जानकारी गराए ।
सांसदहरुले भ्रमणको विषय स्पष्ट पार्नुपर्ने माग राखेपछि उनले भ्रमणका विषयमा जवाफ दिँदै कार्यतालिका बनेपछि सदनलाई जानकारी हुने स्पष्ट पारे ।उनले विभिन्न देशका निम्तामा प्रधानमन्त्री, मन्त्रीहरु बेलाबेलामा भ्रमणमा जाने कुरा स्वभाविकै भएको बताए ।
द्रूतमार्गको प्रगति १९.८३ प्रतिशत
गृहमन्त्री खाणले काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै अन्य सडकभन्दा यो सडक पृथक रहेको जानकारी दिए । उनले चुनौतीपूर्ण काम नेपाली सेनाले जिम्मा लिएको र अहिलेसम्म यस कार्यको १९ दशमलव ८३ प्रतिशत प्रगति भएको सदनलाई जानकारी दिए ।
“ठाउँठाउँमा सुरुङ बनाउनुपर्ने र अग्लो पुल बनाउनुपर्ने भएकाले समय लागेको हो, द्रूतमार्ग बनिसकेपछि सुरक्षित यात्रा हुने विश्वास छ”, गृहमन्त्री खाणले भने । उनले पछिल्लो पटक बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले सुरुङमार्ग बनाउने योजना अघि सार्नुभएकोमा प्रशंसा पनि गरे ।नेपाली सेनाले पेशागत जिम्मेवारीसहित कठिन क्षेत्रमा ३२ सडक निर्माण गरेको उनले जानकरी दिए ।
सेनाले चालु आर्थिक वर्षमा काठमाडौँ तराइ मधेश द्रुत मार्गलगायत कठिन भूभागमा रहेका पाँच वटा ठूला आयोजनामा निर्माण कार्य गरिरहेको छ ।नेपाली सेनाले आफ्नो पेशागत जिम्मेवारी सहित कठिन भूमिमा ३२ वटा सडक निर्माण गरिसकेको उनले जानकारी गराए ।
