काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले २४ लाख हराएको खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गरे । बुधबार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।

उनले नेपालमा विभिन्न देशबाट आएका खोपहरु काठमाडौंमा नै कुन मितिमा आएको, काठमाडौंबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको दाबी गरे । मन्त्री खतिवडाले नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको बताए । उनले सरकारसँग अझै ४६ लाख ४७ हजार डोज खोप सरकार स्टक रहेको बताए । मन्त्री खतिवडाले आफूविरुद्ध २४ लाख घोटाला गरेको आरोप पुष्टि गर्नसमेत चुनौती दिए ।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयो ? कुन मितिमा आयो ? प्रस्ट छ, खोप सबै विदेशबाट काठमाडौंमै आएको छ र विराटनगर गएको छैन । अनि काठमाडौंबाट प्रदेशमा कति गयो ? प्रदेशको खोप जिल्लामा कति गयो ? वेबसाइटमा छ ।
त्यो हेरेर प्रदेश र जिल्लामा गएर त्यति मात्रामा आयो–आएन सोधिदिन आग्रह छ । अहिलेसम्म नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको छ ।’
उनले थपे, ‘अझै ४६ लाख ४७ हजार डोज खोप सरकार स्टक रहेको छ । २४ लाख घोटाला गरेको हो भने पुष्टि गर्न चुनौती दिन्छु । चोरको कुरा चोरले नै देख्छ, सर्पको खुट्टा सर्पलाई नै देख्छ । म झुटो साबित हुन आतुर छु, कृपया यति गर्दिनुहोला । केही दिन अगाडि मात्रै एक व्यक्तिले ५० लाख खोप डम्पिङ गरेर किनेर कमिसन बजाउने योजना १ के छ मन्त्री तेरो हालखबर ?’ भनेर सोध्ने पनि आएको छ ।’
त्यस्तै मन्त्री खतिवडाले एक व्यक्तिले ५० लाख खोप डम्पिङ गरेर किनेर कमिसन बजाउने योजना बनाएको सांसदहरुको प्रश्नको जवाफमा आफू त्यो बाटोमा नगएको बताए । उनले बालबालिकाको लागि फाइजर खोप ल्याउनको लागि विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी साढे ६ अर्बको खोप किन्ने मन्त्रीपरिषद्ले निर्णय गरेको बताए ।
तर विश्व स्वास्थ्य संगठनहरुले नेपालले खोप कार्यक्रम राम्रो गरेको भन्दै कोभ्याक्स सुविधा अन्तर्गत ५ देखि ११ वर्ष बच्चाका लागि खोज दिएकाले नल्याएको स्पष्ट पारे । उनले भने, ‘बच्चाको लागि फाइजर खोप ल्याउनको लागि विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको थियो । त्यो साढे ६ अर्बको थियो । तर हामीले किन्ने भनेर निर्णय गरेको खोप विश्व स्वास्थ्य संगठनहरुले कोभ्याक्स सुविधा अन्तरर्गत ५ देखि ११ वर्ष बच्चाको लागि पठायो ।’
मन्त्री खतिवडाले मन्त्री परिषद्ले किन्ने भनेको खोप खारेज गरेर अनुदानको खोप प्रयोग गरेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !