काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय प्रमुखहरु लाई समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राखि मिठो बोली बचन, ईमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायि हुँदै जिम्मेवारी वहन गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले प्राप्त प्रहरी जनशक्तिलाई उचित व्यवस्थापन गर्दै अन्य सुरक्षा निकायसँगको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो ।

















