काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले थप १० दिनका लागि मागेको बिदा आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन्।

थप १० दिन बिदा माग्दै मंगलबार हेड क्वार्टरमा पठाइएको पत्र आईजीपी सिंहले अस्वीकृत गर्दै तत्काल हाजिर हुन लिखित निर्देशन दिएका छन्। आफैंविरुद्ध मुद्दा लड्न पोखरेलले थप १० दिन बिदा माग्दै दिएको निवेदन आईजीपी सिंहले अस्वीकार गरिदिएपछि अब पोखरेललाई कि हाजिर हुन कि राजीनाम दिनुपर्ने दबाब बढेको छ।
आईजीपीको निर्देशनअनुसार अब पोखरेलले विभागी कारबाहीबाट जोगिनका लागि प्रहरी प्रधान कार्यालयमा हाजिर हुनुपर्ने छ। यदि आईजीपीको निर्देशन अवज्ञा गर्दै हाजिर नभएमा पोखरेलले विभागीय कारबाहीका लागि तयार हुनुपर्ने अवस्था आएको छ।
सरकारले सिंहलाई आईजीपी बनाएसँगै आफूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट पोखरेल वैशाख १९ गतेदेखि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन्। उनले वैशाख १९ देखि लिएको एक महिने बिदा सकिएको छ। ३० दिनको बिदा र सार्वजनिकसमेत जोड्दा उनी ३६ दिनदेखि कार्यालयमा अनुपस्थित छन्।
आईजीपी सिंहको बढुवाविरुद्ध पोखरेलले हालेको रिटको अन्तिम सुनुवाइ यही जेठ ३० गते सर्वोच्चमा हुँदैछ।सर्वोच्चले जेठ ३० गते नै उक्त मुद्दाको छिनोफानो गर्ने गरी अन्तिम पेशीका लागि समय निर्धारण गरेको हो।
यदि जेठ ३० मा सर्वोच्चबाट मुद्दा जितेमा पोखरेल नयाँ आईजीपीका रुपमा प्रहरी प्रधान कार्यलय फर्किन सक्नेछन्। सिंहविरुद्ध हालेको मुद्दामा पराजित भएमा सरकारको निर्णयमा असन्तुष्ट पोखरेलले घर फर्किने विकल्प बाँकी रहनेछ।

















