काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन्। शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि म जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिवद्धता हो । यो अहिलेको शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो’ उनले भने ।
हालै सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गर्न सरकारले गरेका सबै निर्णय बदर गरिदिएको छ र विमानस्थल बनाउनै पर्ने भएमा विकल्प खोज्न आदेश दिएको छ । तर उक्त फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण गर्ने दाबी गरेका हुन् ।
