काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा पुगेका थिए।

दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई छलफलका लागि बोलाएको बताए। झाले भने, ‘आगामी अर्को निर्वाचनमा पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको।
त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो। तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई छलफलका बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै।’
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बिहान ११ बजे पनि बोलाइएको छ। बिजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारेमा विस्तृत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा आएपछि लोसपाले जनता समाजवादी पार्टी (जसपा)सँग एकता र गठबन्धनमा जानेबारे छलफल थालेका छन्।
