काठमाडौं । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा कार्यसम्पादन मूल्याङ्कन लगायत संगठनको प्रणाली अनुरूप निष्पक्ष रूपमा हुने चर्चा गर्दै यूएन मिसनमा प्रहरी कर्मचारीहरूको सहभागिताको लागि पहल गर्न समिति समेत गठन गरी प्रकृया अगाडि बढाइएको उल्लेख गरे ।

यूएन मिसको सन्दर्भमा एसएसपीको नेतृत्वमा एक समिति गठन गरिएको उनको भनाई छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सरुवा–बढुवामा निष्पक्षताका साथ मूल्याङकन हुने र यसका लागि शक्तिकेन्द्र घाउनेलाई कारबाही गर्ने बताएका छन् ।
संगठित अपराध अनुसन्धान एवम् नियन्त्रणमा मानवअधिकारको संरक्षण गर्दै प्रहरी संगठन अझ आक्रामक रूपमा प्रस्तुत हुने उल्लेख गर्दै उनले प्रहरीप्रतिको भरोसा कायम राख्न हालै गरिएका केही सुधारात्मक कार्यहरूबाट सुधारको संकेत देखापरेको र आगामी दिनमा प्रहरीले गरेका कामबाटै उपलब्धी प्रस्ट देखिने बताए । कार्यक्रममा सिंहले भने “संगठन प्रमुख फेरिदैमा संगठनको प्राथमिकता फेरिदैन । शान्ति सुरक्षा कायम राख्नुका साथै बस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको संरक्षण, जघन्य अपराधको अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु ।”
प्रहरी महानिरीक्षक सिंहले नेपाल सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिए । स्थानीय तहको निर्वाचनमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने उनको भनाई छ ।
राजनीनिक दलको नेताका घरघर धाउने प्रहरी अधिकृतको गतिविधि प्रधान कार्यालयले निगरानी गरिरहेको उनले भेटघाटमा जानकारी दिए। उनले भने, ‘संगठनमा सरुवा बढुवा मेरिटको आधारमा हुनुपर्छ। त्यो अब पनि कायम रहन्छ। सोर्सफोर्सका आधारमा हुने सरुवा–बढुवाले संगठनलाई बिगार्छ। कुनै अधिकृत सरुवा–बढुवाका लागि नेताको घरघर धाउने सुन्नमा आए उनीहरूको प्रधान कार्यालयले रेकर्ड राख्नेछ।’
यस्तै महानिरीक्षक धिरज प्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धानलाई आफूले प्राथमिकतामा राखेको बताएका छन् । आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन अधिक प्रयास गरिने उनले बताएका हुन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
महानिरीक्षक सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुनेछ ।’

















