सप्तरी । सप्तरी र सुनसरीमा पर्ने सप्तकोशी नदी लागू औषध गाँजा कारोवार र तस्करी गर्नेहरुको लागि सहज तस्करीको मार्ग बन्दै गएको पाईएको छ ।सप्तकोशी नदीलाई प्रयोग गरेर हुने गरेको गाँजा तस्करीको घटना एकपछि अर्को गरी सार्वजनिक हुन थालेपछि नदीको बाटो कारोवारीहरुको लागि सुरक्षित मार्ग रहँदै आएको देखिएको हो ।

केही साता अघि नदीको तटीय क्षेत्रमा उपयूक्त समयमा तस्करीका लागि लुकाएर राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेपछि अहिले सुरक्षा सर्तकता बढाईएको छ ।
सोही क्रममा सशस्त्र प्रहरीले सप्तकोशी नदीको बगरमा पुनः लुकाइएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।कोशीको मध्य भागमा पर्ने २ नम्बर भंगालो भनिने खयर टापुको बगरबाट ३ सय ५० किलो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख एसपी बिक्रम होमागाईका अनुसार ११ वटा प्याष्टिकका बोरामा प्याक गरिएको गाँजा बगरमा खाल्डो खनी लुकाइएको अवस्थामा बरामद गरिएको हो ।
उनले विशेष सूचनाका आधारमा सुरक्षा बेश चतराबाट खटिएको टोलीले कोशीको बगरमा लुकाइएको गाँजा फेला पारेको बताए । एसपी होमागाईले गाँजा कहिले र कसले लुकाएको भन्ने विषय भने खुल्न नसकेको बताए ।
सशस्त्र प्रहरीले यसअघि समेत सुनसरीबाट ठूलो परिमाणको तयारी गाँजा बरामद गरेको थियो । एसपी होमागाई नेतृत्वको टोलीले भोक्राहाबाट बैशाख १६ गते राती १ सय ४८ किलो गाँजा बरामद गरेको थियो ।
सो क्रममा गाँजा छुटाउन प्रलोभन दिई साढे ५ लाख बोकेर आएका दुई व्यक्तिलाई समेत सशस्त्रले नियन्त्रणमा लिएको थियो ।कोशी नदी र आसपासको क्षेत्रबाट सुरक्षाकर्मीको टोलीले यसअघि समेत पटकपटक गाँजा बरामद गरिसकेको छ । विभिन्न घटनाक्रम र तस्करीको तौरतरिका हेर्दा तस्कर तथा कारोबारीले कोशी नदीको बहावलाई सुरक्षित रुटका रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।
उदयपुर, भोजपुर, धनकुटा लगायतका पहाडी भेगबाट कोशी नदी हुँदै सुनसरी ल्याएर गाँजा लुकाइने र मौका छोपी भारत तर्फ तस्करी हुँदै आएको सुरक्षा निकायको ठहर छ । उसले तस्करी नियन्त्रणलाई मध्यनजर गर्दै कोशी नदी आसपास सहित सीमावर्ती क्षेत्रमा कडाई गरिएसँगै बरामद तथा पक्राउ पर्ने क्रम बढेको जनाएको छ ।
कारोवारीहरुले पहाडमा उत्पादन हुने गाँजा बासको डुंगा जस्ता बनाएर तल प्लास्टिकमा प्याक गरिएको गाँजाको बोरा बाधेर बगाएर ल्याउने गर्दछन । बाहिरबाट हेर्दा पहाडबाट बास ल्याए जस्तो देखिएपनि भित्र पानीमा भने गाँजाको बोरा हुने गरेको जानकारहरु बताउँछन ।
चतरा क्षेत्रमा बासलाई किनारा लगाएर तलको गाँजालाई उपयूक्त समयमा त्यहाँबाट कारोवारीहरुले कोशी र भोक्राहा नरसिंह गाउँपालिकाको सीमा कटाउँदै भारत पु¥याउने गर्दछन ।

