काठमाडौं । हिजोदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उद्धार कार्य जारी रहेको तारा एयरले जनाएको छ ।

तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार फिस्टेल एयरको ९ एन एजेआर हेलिकोप्टर आज बिहान ८ः१० बजे दुर्घटनास्थलमा अवतरण गरेर जहाज दुर्घटनाको पुष्टि गरेको थियो ।
त्यसअघि नै यार्सागुम्बा संकलनमा गएका स्थानीयले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेका थिए । उनीहरुले पठाएको जहाज दुर्घटनाको फोटो र सूचनाको आधारमा सुरक्षाकर्मीसहित उद्धारकर्ताको टोली परिचालित भएको थियो ।खोज तथा उद्धारमा नेपाली सेना, एयर डाइनेष्टी, कैलाश हेलिकोप्टर र फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।
जहाज दुर्घटना भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले टेलिफोनमा कुरा गर्दै ‘विमानका कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।
क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !