काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रतिपक्षी दलका नेताको तीन घण्टा लामो सम्बोधनमाथि व्यंग्य गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद थापाले विरामी छु भनेर संसदको रोस्टमा कुर्सीमा बसेर सम्बोधन गर्ने र स्वस्थ अवस्थाजस्तो तीन घण्टा बोल्ने भन्दै यो कुण्ठामात्रै भएको बताए।
‘नीति तथा कार्यक्रमको छलफलमा प्रारम्भमै घण्टौं एउटा लामो गन्थन प्रस्तुत भइसकेपछि मलाई केही साथीहरुले गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ भन्नुभयो। मैले भने, प्रश्नको उत्तर छ। विचारमा टिप्पणी हुन्छ। प्रतिक्रियामा सहमति हुन्छ। तर कुण्ठामा केही पनि हुँदैन। केवल सहानुभूतिमात्र व्यक्त गर्न सकिन्छ,’ उनले भने।
साथीहरुले यो (विरामी भएको) बेलामा घण्टौं बसेर बोल्ने भनेर प्रतिप्रश्न गर्दा आफूले यतिखेर (निर्वाचनमा पराजय भोगेर) रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुने जवाफ दिएको थापाले संसदमा उल्लेख गरे। ‘पलेटी कसेर बोले पनि हुन्छ। एक खुट्टामा टेकेर बोले पनि हुन्छ। अहिले हामीले सुन्दिनुपर्छ। कहाँ बोल्ने कहिले बोल्ने भन्ने बोल्नेले हेक्का राख्ने कुरा हो । हामीले केवल विचारा भन्न सक्छौं । यतिमात्रै हो,’ उनले भने।
थापाले निर्वाचन हुँदैन हुँदैन भनिँदा सानदार ढंगले एकैपटक सम्पन्न गरेकोमा निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिए।
नीति कार्यक्रममा सरकारले स्थानीय सरकारलाई सहयोग गर्छौं भनेको उल्लेख गर्दै थापाले विस्तृतिकरण प्रतिवेदनको पुनरावलोकन र परिचालन गर्ने कुरामा, संविधानको अनुसूचीमा उल्लेखित अधिकारहरुका सम्बन्धमा विगतमा नबनाइएका कानुनहरु, मापदण्डहरु बनाउन सहयोग गर्नुपर्ने सुझाए।
स्थानीय सरकार एक्लैले काम गर्न नसक्ने भन्दै सहजीकरण गर्न पनि संघ सरकारलाई सुझाए। ‘काठमाडौंको फोहोर हटाउन संघ सरकारको सहयोग चाहिन्छ। सरकारले कानुन हटाउनेलगायत सहजीकरण गर्नुपर्छ,’ उनले भने।
थापाले सन्तुलित परराष्ट्र नीतिमा आधारमा सरकारले आफ्नो व्यवहार गर्छ भन्ने विश्वासमा आफू रहेको बताए।
‘हाम्रो अर्थतन्त्र समस्याग्रस्तमात्रै छैन संकटतर्फ छ। जोखिम आइसक्यो। सरकारको ध्याना जानुपर्छ। पेट्रोलियम पदार्थमा निर्भरता हटाउनेतिर लाग्नुपर्छ। यसमा सरकारको विशेष प्राथमिकता हुनुपर्छ,’ उनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया !