काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएका छन् ।
तत्कालीन शिक्षामन्त्री समेत रहेका भएका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरेपनि उनले नै आफू प्रधानमन्त्री रहेकै बेला सो पुस्तक सार्वजनिक गर्न रोक लगाएका बताएका हुन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहनु भएको तर्क गरे । उनले राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि ओलीलाई सचेत गराए ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टि समेत व्यक्त गरे ।उनले भने, ‘राष्ट्रिय भावनालाई ध्यान दिँदा नीति तथा कार्यक्रमले लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको छ । यसमा खुट्टा नकमाउनुस् । चीनलाई संशंकित गराएर र नेपाललाई अमेरिका कित्तामा लगेर नेपालको राष्ट्रिय हित हुँदैन । प्रमको संयुक्त राज्य अमेरिकाको भ्रमणबारे सचेत हुन जरुरी छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेशनसँगको अनुदान सम्झौंता अघि बढेको कुरा उल्लेख छ ।’उनले थपे, ‘यही संसदबाट पारित भएको १२ बूँदे व्याख्यात्मक घोषणा के भयो ? त्यसको पनि जवाफ अपेक्षित छ । वास्तवमा यो सदनमा प्रतिपक्ष दलको नेता केपी ओलीले प्रजातन्त्र र राष्ट्रियताबारे लामो प्रवचन दिनु भयो । मैले सुनिरहेँ । वास्तवमा दुई पटक संसद विघटन गर्नु भयो उहाँले । त्यो गल्ती कतै उहाँले स्वीकार गर्नु भएन । राष्ट्रियताको कुरा गरिरहँदा शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापानी सम्बन्धि पुस्तकलाई उहाँले रोक लगाउनु भयो ।’
उनले फेरि भने, ‘एउटा कार्यदल बनाउनु भयो । एक पटक पनि बैठक राख्नु भएन । र, किताव किन रोकियो ? जवाफ पनि दिनु भएन । साच्चै प्रजातन्त्र र राष्ट्रियता तपाई पनि कठघरामै हुनुहुन्छ । राष्ट्रियता र प्रजातन्त्र र राष्ट्रियतालाई कूटनीतिक दाउपेचको विषय हुन सक्दैनन् भन्ने मलाई लाग्दछ ।’
नेता पोखरेलले मुलुकलाई दीगो विकाससहित समृद्ध बनाउने र त्यसका लागि आवश्यक जनशक्ति प्रक्षेपण गर्ने काम पनि नीति तथा कार्यक्रममा नआएको उल्लेख गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !