ललितपुर । ६ वटा स्थानीय तह रहेको ललितपुरमा ५ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । ललितपुर महानगरपालिकाको मतगणना जारी छ । ललितपुर महानगरपालिकामा मतगणना जारी भए पनि नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले नै जित्ने लगभग निश्चित छ ।

मतगणना सम्पन्न भएका ५ वटामा महाँकाल गाउँपालिकामा कांग्रेसले जितेको छ । जुन गाउँपालिका यसअघि एमालेले जितेको थियो । कोन्ज्योसममा एमालेले जितेको छ । यसअघि माओवादीले जितेको कोन्ज्योसम एमालेको पोल्टामा परेको छ । बागमती गाउँपालिका नेपाली कांग्रेसले जितेको छ ।
गोदावरी नगरपालिका पनि कांग्रेसले नै जितेको छ । महालक्ष्मी नगरपालिका एमालेले जित निकालेको छ । कांग्रेस र माओवादीको गठबन्धन भए पनि महालक्ष्मीमा एमालेले जितेको छ ।
प्रतिनिधिसभाका ३ क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर १ बाट २०७४ मा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल निर्वाचित भएका थिए । आइजीपी नियुक्तिमा अन्यायमा परेका सिलवाललाई एमालेले प्रतिनिधिसभामा उम्मेदवार बनायो । एमाले अध्यक्ष खड्गप्रसाद ओली ललितपुरको चुनावी सभामा गएर सिलवालाई जिताएर पठाएमा गृहराज्यमन्त्री नियुक्त गर्ने भाषण पनि गरेका थिए । तर ओली ३ बर्ष प्रधानमन्त्री हुँदा पनि उनलाई गृहराज्यमन्त्री बनाएनन् ।
एमालेले ललितपुरका पुराना नेताहरु मधुसुदन पौडेल, सुशीला नेपालहरुलाई टिकट नदिई फुत्त सिलवाललाई सांसदमा उम्मेदवार बनाएको थियो । उनको प्रभाव बिस्तारमा सहयोग पुगो्स् भनेर एमालेले गतबर्ष पार्टीको बिधान अधिवेशन पनि गोदावरीमा गरेको थियो । तर सिलवालको इन्ट्री जुन ढंगले राजनीतिमा भएको थियो, त्यसअनुरुप उनको क्षमता नदेखिएको स्थानीय निर्वाचनले प्रष्ट पारेको छ । उनको चुरीफुरी स्थानीय निर्वाचन परिणामपछि सकिएको छ ।
स्थानीय निर्वाचन परिणामले संभवतः उनी आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भए पनि जित्ने संभावना क्षीण देखिएको छ । ललितपुर क्षेत्र नम्बर १ मा तीन गाउँपालिका महाँकाल, बागमती, कोन्ज्योसम र गोदावरी नगरका १२ वटा वडा पर्दछन् । सिलवालको आगमनबाट ललितपुरमा एमालेको संगठन विस्तार होइन, झन् संकुचित भएको छ ।
ललितपुर एमालेले आफ्नो बिगतको पकड समेत कायम राख्न सकेको देखिएन । सिलवालकै घर रहेको गोदावरी नगरपालिकाको वडा समेत उनले जिताउन सकेनन् । सिलवालको घर गोदावरी नगरपालिका वडा नम्बर ३ माओवादीका राज घिमिरेले वडाध्यक्ष जितेका छन् ।
एमालेका वडाध्यक्षका उम्मेदवार श्री आचार्य पराजीत भएका छ्न । १४ वडा रहेको सिलवालको घर रहेको गोदावरी नगरपालिकामा एमालेले एउटा मात्र वडा जितेको छ ।
गोदावरीको १३ नम्बर वडामा एमालेबाट भाष्कर थापामात्र वडाध्यक्ष जितेका छन् । यसअघि २०७४ को स्थानीय निर्वाचनमा गोदावरीमा एमालेले २, ३, १०, १३ समेत ५ वटा वडा जितेकोमा अहिले एउटामा सीमित भएको छ ।
जिल्ला अध्यक्षकै वडामा एमाले तेस्रो
गोदावरी एमालेका अध्यक्ष पुरुषोत्तम आचार्यको घर भएको नगरपालिका हो । गोदावरी ४ आचार्यको घर भएको वडा हो । जहाँ एमालेका वडाध्यक्षका उम्मेदवार राजनप्रसाद आचार्य तेस्रो भएका छन् । नेपाली कांग्रेसले वडाध्यक्ष जितेको उक्त वडामा निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार भएका थिए । तेस्रो भएका एमालेका राजन आचार्य एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यका दाजु हुन् ।
एमालेले ललितपुरको महानगरमा आधा भन्दा बढी मतले मेयरमा पराजय बेहोर्दैछ । महालक्ष्मी नगरपालिकामा गठबन्धनभित्रको अन्तरबिरोधले एमालेले जितेको हो । पार्टी नेताहरुको बुद्धिमताले भन्दा पनि गठबन्धनभित्रको अन्तरबिरोधका कारण एमालेले जितेको छ ।
कोन्ज्योसम माओवादीले गोपीलाल स्याङ्तानलाई नै दोहोर्याएको र गठबन्धनमा कांग्रेसले मत नदिंदा एमालेले जितेको छ ।

















