पर्सा । देशमा स्थानीय निर्वाचन सम्पन भइसकेको छ । धेरै जसो जिल्लाहरुमा मतगणना सम्पन भएको छ भने केहीमा मतगणना चालू नै छ ।त्यस्तै पर्सामा १४ पालिकामध्ये १३ पालिकामा मतगणना सम्पन भएर नतिजा आइसकेको छ ।

वीरगंज महानगरको मतगणना चालू रहेको छ । चुनाव सकिने बित्तिकै पर्सामा तस्करी खुलेको छ । भन्सार छली ल्याएका विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेका पिकअप नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि तस्करी संचालन भएको खुलासा भएको छ ।
भन्सार छली पैठारी गरी विभिन्न किसिमका लताकपडाहरु पिकअपमा लोड गरी घण्टाघरतर्फ लाँदै गरेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले शुक्रबार वीरगंज महानगरपालिका वडा नं ७ रामटोल नजिकै रेल्वेरोडमा बा.२० च ७८६४ नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा विभिन्न किसिमका लताकपडाहरु फेला परेको थियो ।
प्रहरीले उक्त पिकअप नियन्त्रणमा लिई रु. १९ लाख १४ हजार ९ सय मूल्यांकन गरी आवश्यक कारवाहीका लागि शनिबार वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको पर्साका सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !