काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ ६ गते आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ ६ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएका नारायणदत्त पौडेललाई हार्दिक बधाई दिनुहुँदै उहाँले संगठनमा रहेर आफ्नो जिम्मेवारीका क्षेत्रहरुमा प्रदर्शन गर्नुभएको कार्यक्षमता, सांगठनिक बिकासमा पुर्याउनु भएको योगदान तथा सेवाप्रतिको निष्ठा आदिको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको उल्लेख गर्नुहुँदै उहाँलाई आगामी दिनमा कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
उहाँले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि जोड दिनुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुको बृहत्तर हितका लागि निर्णय गरि केही सुधारका कार्यहरुको सुरुवात गरि सकिएको उल्लेख गर्नुहुँदै अधिकृत तहका कर्मचारीहरुले जिम्मेवारी निर्वाहको क्रममा मातहतकालाई कुशल नेतृत्व र उच्च हौसला प्रदान गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा लाग्न त्यसैअवसरमा सकल दर्जालाई निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले आफ्नो लागि सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु सबै समान रहेको उल्लेख गर्नुहुँदै फौजी संस्कार निर्माण गरी आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामुहिक नेतृत्व र सामुहिक निर्णयकासाथ संगठनलाई अगाडी बढाईने समेत स्पष्ट पार्नुभयो । उहाँले यदि कोही फौजी संस्कारको बर्खिलाप र गैह्र व्यावसायिक क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्तालाई कारवाहीको दायरामा ल्याईने बताउनुहुँदै सकल दर्जाको सरुवा तथा बढुवालाई बैज्ञानिक, पारदर्शी र अनुमान योग्य बनाईने उल्लेख गर्नुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती सावित्रा पौडेललाई फुलमालाकासाथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !