काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिङ्सा सम्बन्धमा प्रकाशित भिडियोबारे प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरी महानिरीक्षक सिंहले पाँच सदस्यीय समिति बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।
एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत् आफूलाई ८ वर्षअघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले सो घटनामा केही व्यक्तिको संलग्नता देखाएकी थिइन् ।
उनले आफूमाथि आठ वर्षअघि यौनहिंसा भएको र त्यसका लागि सहयोग माग्दा पनि चर्चित पात्रहरुले सहयोग नगरेको आरोप लगाएकी छिन् । उनको भिडियो भाइरल भएसँगै अधिकारवादीहरुले उनको न्यायका लागि आवाज उठाएका छन् ।
यसैबीच शुक्रबार प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले पीडित युवतीको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सभामुखले पनि यस विषयमा छानबिनको लागि सरकारलाई निर्देशन दिएका थिए ।
उनको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाज आएका छन् भने पीडकलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले आज संसदमा पनि प्रवेश पाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !