काठमाडौँ । करोडौँ कर छली गरेको आरोपमा भगवती लेमिनेट्स र यसका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले गम्भीर भएरै अनुसन्धान गरिरहेको छ ।

कर छलीका समाचार बाहिरिएपछि राजस्व कार्यालय इटहरीले उक्त कम्पनीका सञ्चालकमाथि अनुसन्धान गर्दै आइरहेको थियो । तर ती सञ्चालकहरुले अनुसन्धान प्रक्रियालाई नै चुनौती दिनेगरी विभिन्न दबाब र भनसुनमा चोखिन खोजेपछि अनुसन्धान विभागले केन्द्रबाटै अनुसन्धान सुरु गरेको हो ।
विभागले भगवती लेमिनेट्सका सम्पूर्ण फाइल काठमाडौंमा तानेर अनुसन्धानमा गम्भीर भएर लागेको बताइएको छ । सबै फाइल केन्द्रमा झिकाइएको तर आफूहरूले अध्ययन गर्न बाँकी रहको विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिवस आचार्यले बताए।
भगवती लेमिनेट्सले विगत एकवर्षको अवधिमा कच्चा बिलमार्फत् ८० करोड रुपैयाँ बढीको कारोबार गरी झन्डै २५ करोड राजस्व (कर) छली गरेको प्रमाणहरु भेटिएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको थियो । तर सो छलीबाट जोगिन भगवती लेमिनेट्सका सञ्चालकहरूले राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृतलाई विभिन्न प्रभावमा पारेको भनी व्यापक गुनासो र असन्तुष्टि विभागमा आएपछि विभागले ती फाइल केन्द्रमा झिकाएर गम्भीर रुपमा अनुसन्धान सुरु गरेको हो ।
राजस्व कार्यालय इटहरीले उक्त कम्पनीका ७ जना सञ्चालकसँग बैंक खाता र स्टेटमेन्ट माग्दा अटेर गरेको बताइएको छ । अनुसन्धान प्रक्रिया फितलो हुने देखेपछि विभागले सबै फाइल केन्द्रमै तानेर गम्भीर रुपमा अनुसन्धान गर्ने तयारी थालेको हो । अहिले विवरण बुझाउनुको साटो केही सञ्चालकहरु आर्थिक अपराधबाट बच्नका लागि विभिन्न शक्तिकेन्द्र धाइरहेको समेत बताइएको छ ।
त्यसो त, केही समयअघि मात्रै राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्सका सातै जना सञ्चालकलाई बयानका लागि बोलाएको थियो, जसमा केहीमध्ये बाँकी उपस्थित भएनन् । अब उनीहरूलाइ विभागले केन्द्रमै बाेलाएर बयान लिने तयारी भइरहेकाे विभाग स्राेतले जनाएकाे छ ।
नेम्प्लाई प्लाइउडको नाउँमा कारोबार गर्दै आएको भगवती लेमिनेट्सले आफूलाई नेपालकै नम्बर १ प्लाइउडको दाबी गर्दै आएको थियो । तर, यसका क्रियाकलाप ठगी धन्दामै केन्द्रित रहेको एकपछि अर्को खुल्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !