काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय निर्वाचनको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताएका छन्।

मंगलबार मदन-आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रममा सचेतक भट्टराईले यस्ताे बताएका हुन्।
उनले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाए।
प्रमुख सचेतक भट्टराईले भने, ‘वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। नेकपा एमालेले अपेक्षा गरेजस्तो परिणाम अलि आएको छैन। हाम्रो विरुद्धमा गठबन्धनको र राज्य संयन्त्रको चरम दुरुपयोग गरेर दुईवटा घेराबन्दी गरिएको थियो। त्यस बाबजुद पनि हाम्रो ठिकै रिजल्ट आइरहेको छ। त्यसको समीक्षा हुनेछ।’
यसैगरी, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनतमको हिसाबले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन्।
त्यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाए।

















