काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आफ्नो चरित्र हत्या गर्न नेकपा (एमाले)का नेताहरुले पैसा बाँडेको आरोप लगाएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जनकपुरमा मतदातालाई पैसा बाँडेर नेकपा (एमाले)का नेता रघुवीर महासेठ र जुली महतोले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका हुन् ।

अध्यक्ष अन्सारीमाथि मतदातालाई प्रभावित पार्न जनकपुरमा पैसा बाँडेको आरोप लागेको थियो । उनले विहान ११ बजेको समयमा केही हुल गुण्डाहरु आएर आफूमाथि हमला गर्ने प्रयास गरेको पनि बताए । उनले आफ्नो चरित्र हत्या गर्नखोज्नेहरुमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् ।
अध्यक्ष अन्सारीले भनेका छन्, ‘मंगलबार राति ११ बजे म जनकपुर पुगेको थिएँ । हिजो बिहान लुरी बर्काती मदरसामा इदको शुभकामना आदान प्रदानका लागि म जनकपुर गएको थिएँ । कार्यक्रम हिजो सकिएपछि आज मेरो साढे १२ बजेको फ्लाइटबाट फर्किने कार्यक्रम थियो । त्यहीअनुरूप बिहान ११ बजेको समयमा केही १५÷२० जना गुण्डाहरू म बसेको होटलमा प्रवेश गरेर एक्कासि हमला गर्ने प्रयास गर्नुभयो । नाराबाजी गर्दै उम्मेदवारहरूलाई पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो ।’
उनले थपे, ‘यतिसम्म कि यहाँ करोडौँ रुपैयाँ बाँडिरहेको छ भनेर आरोप लगाउनुभयो । जुन आरोप अत्यन्तै गलत हो । अत्यन्तै गम्भीर भएर दुःख व्यक्त गर्दछु । म हिजो एमाले पार्टीमा आवद्ध थिएँ । एमाले पार्टीकै सिफारिसअनुसार आयोगको प्रमुख बनेको हुँ । सिफारिस गरेपछि मैले पार्टीबाट सदस्यता परित्याग गरेर साधारण सदस्यसमेत नरहने गरी प्रमुखको सपथ लिएको थिएँ । आज जुन व्यक्तिहरू आउनुभएको थियो । बडो दुःखका साथ भन्नुपर्छ । एमालेका नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । र, पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ थिए ।’
उनले फेरि भने, ‘उहाँहरूले त्यहाँ गएर नाराबाजी गर्दै उसको बदनाम गराउ भनेर पठाएका थिएँ । अहिले सुरेन्द्र भण्डारी भन्ने व्यक्ति पक्राउ पनि परेका छन् । यदि मैले गलत क्रियाकलाप गरेको हो भने कांग्रेस, माओवादी केन्द्र वा मधेसी दलका नेता कार्यकर्ताले मलाई घेराउ गर्नुपथ्र्यो । मलाई त्यो आरोप लगाउनुपर्थ्यो ।
तर, यहाँ म जुन पार्टीबाट प्रमुखका लागि सिफारिस भएको थिएँ, त्यही पार्टीका सीमित नेता तथा कार्यकर्ताले ममाथि यस्तो आरोप लगाए । यो सबै नेताको इसारामा मेरो चरित्रहत्या गर्ने काम भएको छ । यसमा दोषीमाथि छानबिन गर्दै कारबाही गर्न माग गर्दछु ।’
त्यस्तै अध्यक्ष अन्सारीले आफ्नो चरित्र हत्या गर्ने लक्ष्य राखेर एमालेका नेताहरुले फण्डा मच्चाएको बताए ।

















